आर्मी र गण्डकीको विजयी सुरुवात

काठमाडौं।

साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा आइतबारदेखि सुरु भएको चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा आइतबार भएको खेलमा यसअघिको तीनै संस्करणको च्याम्पियन आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा आर्मीले सुदूरपश्चिममाथि २५–१०, २५–१९ र २५–११ को सहज जित निकाल्यो ।

आइतबारै भएको अर्काे खेलमा गण्डकी प्रदेशले प्रदेश ५ माथि ३–१ को जित निकाल्दै विजयी सुरुवात गरेको छ । पहिलो सेट सहजै २५–११ ले जितको गण्डकीले दोस्रो सेटमा जितनजिक पुगेर पनि २६–२८ ले गुमाएको थियो । गण्डकीले २४–२१ को अवस्थामा खेल गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट २५–१६ र २५–२० ले जित्न सफल भयो । अर्काे खेलमा प्रदेश १ ले प्रदेश २ लाई २३–२५, २५–१९, २५–१९ र २५–१५ ले हरायो प्रदेश ३ ले प्रदेश ६ माथि १८–२५, २५–१७, २५–१८ र २६–२४ को जित निकाल्यो ।

लिगमा सोमबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा पुलिस र कर्णाली, एपीएफ र प्रदेश २, गण्डकी र प्रदेश ३ तथा आर्मी र प्रदेश १ बीच खेल हुनेछ । २६ जेसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीको सहभागिता रहेको छ । लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस