पुँजीवादी ढाँचामा कम्युनिस्ट संगठन।

हरेक वस्तुको विकास र विनाशको मुख्य कारण त्यस वस्तुभित्रै निहित हुन्छ भन्ने द्वन्द्वात्मक भौतिकवादी निष्कर्षबाट हेर्दा सन् १८७१ को पेरिस कम्युनदेखि आजसम्मका कम्युनिस्ट व्यवस्थाको पतनको मूल कारण त्यहीँभित्र छ भन्ने मान्नैपर्छ । सोभियत संघदेखि चीनको आजको पुँजीवादी व्यवस्थासम्म बाहिरबाट आक्रमण गरेर चिली, इन्डोनेसियाको वामपन्थीलाई जसरी ढालेर प्रतिक्रान्ति भएको होइन । बहुसंख्यक देशका कम्युनिस्टका पुराना निष्कर्ष अर्थात् संशोधनवादले सत्ता कब्जा गरेर कम्युनिस्ट ढलेको मान्ने हो भने के पुँजीवादको अनुमतिमा समाजवाद सम्भव हुने माक्र्सवाद कतै थियो र ? भन्ने प्रश्नमा गएर ठोकिन्छ ।

वास्तवमा संशोधनवादका रूपमा अगाडि आउने पुँजीवादसँग लड्ने वैचारिक र संगठनात्मक विधि विकास गर्न असफल भयौँ भनेर पो सच्चा कम्युनिस्टले स्विकार्नुपर्ने हुन्छ । रुसका स्टालिन नियतमा सच्चा श्रमजीवी वर्गका नेता नै प्रमाणित हुन्छन्, तर संशोधनवादसँगै लड्ने उनको विधिबाट सफलता मिलेन । चीनका माओले सर्वहारा सांस्कृतिक क्रान्तिको प्रयोग गरे, जुन असाधारण क्रान्तिको रूपमा पुँजीवादी बौद्धिक क्षेत्रमा समेत स्थापित भयो, तर त्यो असफल भयो । माओले चाहेझैँ थप सांस्कृतिक क्रान्तिको आयोजक बाँकी रहेनन् । माक्र्स र एंगेल्सले सत्ता अभ्यास गर्नै पाएनन् । सत्ता प्राप्त गरेर धेरथोर अभ्यास गर्ने वैचारिक नेता लेनिन र माओले गम्भीर मिहिनेत गरेको पाइन्छ । लेनिनले सम्पूर्ण सत्ता सोभियतलाई भनेर अनि माओले आमजनतालाई अधिकार दिन सांस्कृतिक क्रान्तिमार्फत प्रयत्न गरे । लेनिन र माओको यो यथार्थमै महान् प्रयोग थियो । किनभने उनीहरू दुवैले आमश्रमिक जनतालाई नै निर्णायक बनाउन ती प्रयोग गरेको देखिन्छ ।

पुँजीवाद र संशोधनवादका रूपमा प्रकट हुने छद्म पुँजीवादले त क्रान्तिअघि वा क्रान्तिपश्चात आक्रमण त गर्छ नै । त्यसैले संशोधनवादको आक्रमणका कारण हामी हा-यौँ भन्ने भाष्यलाई मुख्य बनाउन कम्युनिस्टलाई छुट छैन । बरु आज कम्युनिस्टले विचारका अलावा संगठनको ढाँचा र पद्धतिमा कहाँ गल्ती भयो भन्ने प्रश्नमा घोत्लिनु जरुरी छ । यदि कठोर सिंहावलोकनतिर लाग्ने हो भने पुँजीवादले बनाएको संगठनको ढाँचा र कम्युनिस्टले बनाएको संगठनको ढाँचा आधारभूत रूपमै उस्तै हुँदै आएको छ ।

संगठनको अंश पार्टीभित्र मात्रै होइन, सिंगै राज्य व्यवस्थासम्म पुँजीवाद र कम्युनिस्ट ढाँचामा आधारभूत फरक छैन । १. पुँजीवादी पार्टीमा सर्वेसर्वा पिरामिडको चुचुरोमा रहेको नेता वा समिति हुन्छ । ठीक त्यसैगरी कम्युनिस्ट पार्टीमा पनि त्यस्तै हुन पुग्यो । पुँजीवादी व्यवस्थामा नेता भनेको शासक हुन्छ । कम्युनिस्ट व्यवस्थामा पनि मूलतः त्यही हुँदै आयो । फरक के भयो ? २. पुँजीवादी व्यवस्थाले आमजनतालाई प्रतिनिधि छान्ने मात्र अधिकार दिन्छ । त्यसपछि प्रतिनिधिमूलक संस्थाले प्रतिनिधि छान्ने जनताको बारे सबै निर्णय गरिभ्याउँछ ।

कम्युनिस्ट व्यवस्थामा पनि एक वा अर्को रूपमा यस्तै भयो । सरोकारवाला वर्ग र समुदाय आफैँले निर्णय गर्नै पाएनन् । तब फरक के भयो ? पुँजीवादसँग लड्ने र वैज्ञानिक समाजवादी समाज बनाउने लक्ष्य राख्ने, तर निर्णय जति पुँजीवादले जस्तै सानोभन्दा सानो जमातले गर्ने प्रणाली बनाएपछि त्यो समाजवादी ढाँचा नै अन्ततः भएन । तसर्थ, कम्युनिस्ट आन्दोलनले संगठनको ढाँचा र निर्णय प्रणालीलाई पूरै उल्ट्याउनु जरुरी छ ।

पार्टीलगायत प्रतिनिधि समितिले १. वैचारिक र राजनीतिक दिशाबोध गर्ने । २. उत्पीडित वर्ग र समुदायका निर्णयलाई व्यवस्थापन अर्थात् लागू गर्ने । ३. उत्पीडित वर्ग र समुदायबीच संयोजन गर्ने काम मात्र गर्ने ढाँचा तय गर्नुपर्छ । पुँजीवादले निर्णयाधिकार सबै माथि लैजान्छ भने कम्युनिस्टले चाहिँ निर्णय गर्ने अधिकार सरोकारवाला आमजनसमुदायमा फर्काउने प्रणालीमै जानुपर्छ । पुँजीवाद र कम्युनिस्ट अधारभूत सबै विषयमा ठीक उल्टो हुनैपर्छ । तब त उल्टो समाजव्यवस्थालाई सुल्ट्याउन सम्भव हुन्छ । पुँजीवादले भोट हालेर प्रतिनिधि पठाउनुलाई पूर्ण लोकतन्त्र भन्छ, जुन ठूलो झुठ हो । कम्युनिस्ट आन्दोलनले भोट हालेर प्रतिनिधि चुन्ने अधिकार पुँजीवादको ठूलो षड्यन्त्र हो बरु सरोकारवाला आफैँले आफ्नो बारेमा निर्णय गर्न पाउनु पूर्ण लोकतन्त्र हो भन्न सक्नुपर्छ र त्यसैअनुसारको संगठन एवं व्यवस्थाको ढाँचा प्रस्तुत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस