काठमाडौं :- बुटवलमा दोस्रोे सडक खाना महोत्सव शुरु भएको छ । सडक खाना महोत्सवको एक विशेष समारोहका बीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्दै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताए ।
उनले खाना महोत्सववाट हप्तामा एक दिन सपरिवार घरवाहिर गएर खाना खाने परिपार्टीको विकास गर्न जरुरी रहेको भन्दै त्यो गर्न सकेमा मात्र पर्यटनको विकास हुने र पर्यटन क्षेत्रमा लगानी बढ्ने बताए ।
उनले नयाँ पृथक आनन्द अनुभुति आउने स्वाद पर्यटकले पाए मात्र पर्यटन क्षेत्रको विकास तथा व्यवसायमा लगानीको विस्तारका हुने बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ पुस १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु ,मगर ,थकाली, गुरुङ ,क्षेत्री ,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक बनेको छ । सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।
वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकको दायाबांया सडक खाना महोत्सव स्थल खानाका परिकारले सजिएको छ ।
सडक खाना महोत्सवमा नेपाली जातिगत खाना वाहेक इण्डियन चाईनिज,जापानिज,इटालियन र थाई खाना तथा अन्य खानाका ६० बढी परिकार राखिएको छ ।
तिन दिनसम्म सांझ ६ बजेदेखि राती १२ बजेसम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताए ।