काठमाडौं :- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रदेश ३ को नाम र राजधानी टुंग्याएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
यो सँगै प्रदेश नम्बर ३ ले एक साताभित्र स्थायी नाम र राजधानी पाउने भएको छ । यसअघि नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा प्रदेशको नाम र राजधानीमा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।
यता, मुख्यमन्त्री डोरमणि पौडेलले पनि पुस २० गतेसम्म नाम र राजधानी टुंगो लाग्ने जानकारी दिए । तर उनले नेकपाले मात्रै निर्यण गरेर पुग्दैन भन्दै संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्ने बताए । उक्त निर्णयलाई सार्वजनिक भने गरिएको छैन ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो । त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो ।
प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
प्रदेश १, २, ३ र ५ ले राजधानी र नाम टुंगो लगाउन सकेका छैनन् । आजको नेकपा सचिवालय बैठकले सभामुखको उम्मेदवारको विषयमा भने कुनै निर्णय गर्न सकेन ।