यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ ।

समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन् ।

खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।
खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थस्थल हो । खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् । यसलाई प्राचीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ ।

वरिपरी मैदानै मैदानकोबीचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धार्मिक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।

त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्थानियहरुको बढी सहभागिता हुने गरेको छ । त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ ।

त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछन् ।

पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।

‘प्राकृतिक दृष्टिकोणले अती मनोरम दृश्यहरुको मज्जा लिन सकिने र वरिपरी हजारौँ रङ्गीबिरङ्गी फूलहरुको विचमा रहेको यो मन्दिरमा दर्शन गरेपछि आफूले चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू यहाँ आउने गरेको’ खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देश यमराज कुवर बताउँछन् । यहाँ हेर्न आउने पर्यटक तथा श्रदालु भक्तजनहरुको लागि बास बस्नका लागि एक भवनको निर्माण गरिएको छ ।

खप्तड पर्यटन क्षेत्र यहाँको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिर र खप्तड पर्यटन क्षेत्रको विकास र संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिई सँगसँगै विकास गरेर लैजानु पर्ने बझाङ्गबाट खप्तड पर्यटन बोर्डमा प्रतिनिधित्व गरिरहेका बोर्ड सदस्य डबल बहादुर बोगटीको भनाई छ । खप्तडको शोभा बढाउनमा त्रिवेणी मन्दिरको पनि एक महत्वपूर्ण भुमिका खेलेको छ ।

कसरी जाने –

खप्तड पुग्ने धेरै बाटाहरू भए पनि चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म आठ घन्टा बस चढेपछि पैदल हिँड्नुपर्छ । अहिले भने बगलेगसम्म जिप पनि चल्न थालेको छ ।

सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जगलको बाटो आउँछ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ ।

खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ । साथै, चाउचाउ लगायतका ड्राइफुड पनि बोक्नु राम्रो । यहाँ बास बस्नका चार धर्मशाला भए पनि

तिनको उचित व्यवस्थापनको अभाव छ । खप्तडका लागि सुदूरपश्चिम बाहिरकाले ५–७ दिनको प्याकेज बनाउनुपर्छ ।
खप्तडको पाटनमा पाइला टेक्नेबित्तिकै यहाँको प्राकृतिक सौन्दर्यबाट मन्त्रमुग्ध हुन्छन् । बाटोको कष्टप्रद यात्रालाई पनि मनोरम दृश्यले भुलाइदिन्छ । चारैतिर हरियाली रहेको पाटनमा छिनछिनमै कुहिरोको घुम्टोमा लुक्ने खप्तडको घुमघामलाई ‘मौका मिले फेरि आउने’ भन्दै पर्यटक फर्कने गर्छन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड वास्तवमै अलौकिक र अनुपम लाग्छ । सुदूरका तीन पहाडी जिल्ला डोटी, बझाङ र अछामको भूभाग छुने खप्तड समुद्री सतहबाट २,४०० देखि ३,७०० मिटरसम्म फैलिएको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको संरक्षण खप्तड राष्ट्रिय निकुञ्जले गर्छ ।

खप्तडका २२ पाटन हिउँदे याममा हिउँले पुरिएका हुन्छन् भने अन्य मौसममा फूलले ढकमक्क देखिन्छन् । ४ रैथानेसहित १३५ किसिमका फूल फुल्छन् । गुराँसमात्रै १४ प्रकारका पाइन्छन् । रंगीविरंगी फूल ढाकिने विशाल चौरलाई पाटन भनिन्छ । खप्तड पुग्दाको थकाइ यिनै पाटनमा टहल्दा मेटिँदै जान्छ । यहाँ नौलो जोस, ऊर्जा र कौतुहलता जाग्न थाल्छ । यहाँ साना–ठूला गरी ५३ ताल रहेका छन् । विभिन्न किसिमका २२४ प्रजातिका वनस्पति पाइन्छन् ।