मानवी पौडेल/काठमाडौं :-
‘बाबु खाना खान आइज।’फलानो नेता राष्ट्रघाती हो, देश बिग्रनमा ढिस्कानो पार्टीको ठूलो हात छ।’
गायक रामकृष्ण ढकालको डिभोर्सको कारण यस्तो यस्तो….
सामाजिक सञ्जाल (सोसल मिडिया)मा आजभोलि देशको राजनीतिक समीक्षा, व्यक्तिगत तथा पारिवारिक जानकारी र अनुमान/ विश्लेषण निकै धेरै हुन्छन्। सञ्जालको निर्भरता र व्यस्तताले प्रत्यक्ष भेटेरै गर्दा उपयुक्त हुने देखेर/जानेर /बुझेर मात्रै धारणा राख्नुपर्ने कुरामा समेत सञ्जालमा हलुकासँग टिका टिप्पणी हुन्छन्।
अचेल सँगै रहने परिवारका सदस्यको पनि प्रत्यक्ष भन्दा सामाजिक सञ्जालको प्रयोग गरेर सूचना आदान प्रदान अधिक हुन थालेको छ। बन्द कोठामा बसेर राजनीतिक पार्टीको आलोचना र प्रशंसा गर्नेको सङ्ख्या बढिरहेको छ। सामाजिक सञ्जालबाटै मायाप्रीति जोड्ने र भत्काउने घटनाहरू बढ्दो छन्।
मान्छेले आफ्नो औचित्य र हैसियत नै बिर्सने गरी सामाजिक सञ्जालमा प्रस्तुत हुने क्रम बढेको छ। देशकै सम्मानित संस्था र व्यक्तिहरूलाई समेत निकृष्ट देखाएर आत्मरतिमा रमाउने या सन्तुष्ट हुनेहरू पनि बढेका छन्।
सामाजिक जीवनमा बाहिर पटक्कै देखिन नरुचाउनेहरु ‘डिजिटल लव’ मा फँसेर ‘आई मिस यु’ ‘लव यु’ को चेपारोमै रमाउन थालेका छन्।
पहिले बाटोमा भेट्दा हुने हार्दिकता अचेल स्कृनतिर सरेको छ, मान्छेहरु हिँड्दा पनि मोबाईल हेरेरै हिँड्छन्। परिवारमा भलाकुसारी हुनै छाडेको छ, पति पत्नीबीच समेत च्याटमै कुराकानी हुन्छ, घर आउने पाहुनाले नमस्कारको हात तल नझार्दै प्रश्न गर्छ, “वाईफाईको पासवर्ड के होला?”
सामाजिक सञ्जालकै कारणले केही सामाजिक, परोपकारी तथा उद्घारका कामहरु पनि भएका छन् भने सामाजिक सञ्जालको गलत प्रयोगले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा बिभिन्न प्रत्यक्ष प्रभावहरु देखिन थालेका छन्।
नेपालमा पछिल्ला वर्षहरूमा सूचना, जानकारी, समाचार र सम्पर्कको लागि सामाजिक सञ्जालको प्रयोग अत्याधिक हुन थालेको छ। सामाजिक सञ्जालकै कारणले केही सामाजिक, परोपकारी तथा उद्घारका कामहरु पनि भएका छन् भने सामाजिक सञ्जालको गलत प्रयोगले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा बिभिन्न प्रत्यक्ष प्रभावहरु देखिन थालेका छन्।
सूचना प्रविधिको तिव्रतर विकाससँगै सामाजिक सञ्जालको पहुँच सहज हुँदै गएको छ। उच्च गतिको इन्टरनेट र अत्याधुनिक विद्युतीय सामग्रीहरुको उपलब्धताले सामाजिक सञ्जालको छिटो र छरितो उपयोग गर्न सकिने भएको छ।
सामाजिक सञ्जालको सही र उचित प्रयोगले प्रयोगकर्तालाई धेरै नै सहजता सिर्जना गर्छ। विचार र भावनाको सम्प्रेषण, पछिल्ला सूचना र समाचारहरु साथै सम्पर्क र सम्बन्ध स्थापित गर्न, निरन्तरता दिन र व्यक्तिगत जानकारी समेत एकै ठाउँबाट लिन मिल्ने हुनाले यो बहुउपयोगी छ। व्यक्ति र स्थान बारेको जानकारी, बिभिन्न उपकरण र सामग्री बारेको सूचना र तथ्य, देश विदेशका विविध क्षेत्रका खबरहरु, जीवनशैली लगायत मानव जीवन र समग्र जगत् सम्बद्ध पक्षहरु बारे जान्न र बुझ्न सामाजिक सञ्जाल एक सहज माध्यम भएको छ।
आमसन्चार माध्यममा सूचना दिने पहुँच नभएकाले समेत सामाजिक सन्जाल उपयोग गरी वास्तविक तथ्य वा घटना, विचार र भावना सहजै प्रकाशन र प्रसारण गर्नसक्छन्। पछिल्लो समयमा आमसन्चार माध्यमहरूले सामाजिक सञ्जालमा व्यापक बहस र विमर्श भएका विषयहरुलाई विशेष महत्व दिएर समाचार प्रकाशित गर्ने गरेका छन्।
सामाजिक सञ्जाल तार्किक विश्लेषण र यथार्थपरक जानकारीको लागि सदुपयोग गर्ने भन्दा पनि आग्रह र पूर्वाग्रहको आधारमा मन परेकाको गल्ती पनि छोपेर यत्तिकै उच्च महत्व दिने र फरक विचार राख्नेलाई अनर्गल आक्षेप लगाउने थलो भएको गुनासो पनि निकै सुनिन थालेको छ। खासमा सकारात्मक कुराहरु भन्दा नकारात्मक कुराहरु चाडै भाईरल हुने हुँदा त्यसैको पछाडि ठूलो भीड जम्मा हुन् थाल्छ। सूचना र विमर्शको लागि उच्च महत्व राख्ने सन्जाल सस्तो टिप्पणी गर्ने र कसैको बढाईचढाई गर्ने र कसैको खेदो खन्ने ठाउँ बनेमा यसले विश्वसनियता गुमाउँदै जानेछ।
सामाजिक सञ्जालमा धेरै फलोवर भएकाहरुले लेखेका र बोलेका कुरा धेरैले हेर्ने हुनाले त्यसकै आधारमा धारणा पनि बन्छ। यस्ता व्यक्तिले राखेका जानकारी र विरोध वा समर्थनको प्रभावले अभियानकै रुप पनि लिनसक्छ। धेरैको संख्यामा फलोवर भएका र प्रभावशाली प्रयोगकर्ताहरुले आफ्नो अभिव्यक्ति र प्रस्तुतिले पार्ने सकारात्मक सन्देशबारे सचेत भएर नागरिक स्वतन्त्रता र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आवाज उठाउन नसेकेका वा नसक्नेहरुलाई समेत प्रतिनिधित्व गर्न सकेमा सामाजिक सञ्जालको उचित र व्यवहारिक उपयोग हुनसक्छ।
यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक सञ्जालमा हुने गतिविधिहरुलाई नियमन गर्न सरकारी तवरबाट यथेष्ट ध्यान दिईनु आवश्यक हुन्छ।
सामाजिक सञ्जालमा परिचय नखुलाउने र गलत परिचय खुलाउने (फेक अकाउण्ट)हरुले गलत सूचना प्रवाह गर्ने, तथ्यलाई बंग्याउने र नकारात्मकता फैलाउने जोखिम रहन्छ। यस्ता गलत प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक सञ्जालमा हुने गतिविधिहरुलाई नियमन गर्न सरकारी तवरबाट यथेष्ट ध्यान दिईनु आवश्यक हुन्छ।
सामाजिक सञ्जालमा धेरै भुल्दा व्यक्तिगत सिर्जनशीलतामा कमी आउने र अनिद्रा, तनाव आदि विकृत अवस्था पैदा भई शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूलता देखिने सम्भावना उच्च हुने बिभिन्न अध्ययन र अनुसन्धानहरुले देखाएका छन्। यसका अलावा पारिवारिक तथा सामाजिक जीवनलाई नै असर पारेका उदाहरणहरु पनि देखिएका छन्।
जे जस्तो भए पनि सामाजिक सञ्जाल अहिलेको आवश्यकता हो, यसलाई पूर्णत उपेक्षा गर्न त सकिदैन नै तर यसलाई ब्यवस्थित तरिकाले सिमित समयमा मात्र चलाउन सके पक्कै फाईदा पुग्नेछ।