काठमाडौं :- उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु देशमा लगानी बढाउन तयार रहेको बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघले ‘उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारा सहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय सञ्चालनका लागि लगानीको सुरक्षा र त्यसबाट आउने प्रतिफलको सुनिश्चितता भएमा लगानी स्वतः बढ्ने उल्लेख गर्नुभयो ।
सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राष्ट्रिय पूँजी निर्माणबाट मात्रै देशको समृद्धि हुने बताउनुभयो । उहाँले लगानी बढाउनका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा सहभागी अन्य उद्योगी व्यवसायीहरुले जलविद्युत, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताएका थिए ।