हात्तीको प्रयोग देवताले कसरी गरे शास्त्रमा उल्लेख छ : अध्यक्ष प्रचण्ड

चितवन ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा पनि शास्त्रमा भएको बताएका छन् ।

क्षेत्रीय होटलल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको बिहिबार सौराहामा शुभारम्भमा शास्त्रमा हात्तीको प्रयोग धेरै लेखिएको उल्लेख गर्दै प्रचण्डले भने “मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।”

उनले  पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताए। पर्यटन क्षेत्रको विकास कहिल्यै सकिदैन भने ।  उनले भने, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।”

प्रचण्डले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरराष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह  गरेको  बताए । उनले भने “निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ ।”

साथै चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । प्रचण्डले बिहिबार बिहान सो कार्यक्रमको उद्घाटन गरे ।

प्रचण्डले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए । प्रचण्डले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए ।

अन्तरराष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका हुन् । कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

दुलहीझैँ सिङ्घारियो
महोत्सवलाई लक्षित गरी सौराहालाई ध्वजापतकाले दुलहीझैँ सिङ्घाारिएको छ । महोत्सव अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको  भीड लागेको छ । महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिडाई, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना  हुनेछन् ।

हात्तीको द्रुत हिडाईमा ३० वटा हात्ती सहभागी हुनेछन् । यस्तै हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान चार टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पाँच टोली सहभागी हुने बताइएको छ ।

महोत्सवमा यसपटक राष्ट्रियस्तरको महिला भलिबल खेल समावेश गरिएको छ । बामाघमारा मध्यवर्ती सामुदायिक वनमा शुक्रबारदेखि शुरु हुने महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस