बिहीबार दिउँसो १ बजे बस्ने गरी एक साताअघि स्थगित बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले अब शुक्रबार केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए।
मंसिर २६ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले विभाग बढाउनेजस्ता ९ एजेन्डा छलफलका लागि पेश गरेका थिए। तर त्यसपछि बसेका पाँच वटा बैठक पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गर्दै आएका छन्।
पौडेल र सिटौला पक्षले अहिले नै १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर जानुपर्ने अडान लिएका छन्।
विवाद समाधानका लागि सभापति देउवाले उपसभापति विमलेन्द्र निधि र पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी दिए पनि सहमति भइसकेको छैन।
सभापति देउवा पक्ष अर्को वर्ष फागुनमा महाधिवेशन गर्नेमा सहमत भए पनि पौडेल पक्षले अर्को मंसिर पहिलो साता नै महाधिवेशन गर्नुपर्ने माग राखेका छन्।
पौडेल पक्षले प्याकेजमै सहमति खोजिरहेको छ।
सहमतिका लागि प्रयास भइरहेकोले एक दिन पर बैठक सारिएको कांग्रेस नेताहरूले जनाएका छन्।
कांग्रेसमा भातृसंस्था नेपाल तरूण दलको म्याद छ महिना थप र नेविसंघको केन्द्रीय समिति गठनबारे पनि विवाद छ।