शुक्रबार पनि काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित

काठमाडौं :- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको काँग्रेसले जनाएको छ ।

एजेण्डामा संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक स्थगित भएको हो । गत बिहीबार सभापति शेरबहादुर देउवाले विभाग २८ बाट बढाएर ४१ पुर्याउने, भातृसंस्था नेपाल तरूण दल, नेपाल विद्यार्थी संघलाई पूर्णता दिनेलगायत एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए ।

गत साउनमा बसेको केन्द्रीय समिति बैठकले कात्तिकभित्र पार्टीका सबै निकायमा समायोजनका काम सक्ने र मंसिरभित्र १४ औं महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गरेको थियो । तर सभापति देउवाले अहिले महाधिवेशनको कार्यतालिका ल्याउन आलटाल गरेको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएकोे छ ।

छिटो महाधिवेशनको कार्यतालिका ल्याउन पौडेल पक्षको मागलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिएको छ । संस्थापन र पौडेल समूहले वार्ता टोली समेत गठन गरेर सहमतिको प्रयास गरेको भए पनि ती प्रयासहरु निरर्थक हुँदै आएका छन् ।

नेताहरु लगातार गुटगत र आन्तरिक छलफलमा छन् । सभापति देउवाले गत शनिबार पौडेललाई घरमै गएर भेटे पनि सहमति हुन सकेन । महाधिवेशन कार्यतालिका बाहेक अर्को विवादको विषय भातृसंस्था नेविसंघबारे छ ।

दुवै पक्ष एक सय एक सदस्यीय नेविसंघ गठन गर्न सहमत देखिए पनि कुन-कुन पद सिर्जना गर्ने भन्नेमा कुरा मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस