रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं ७ को अध्यक्ष सुबाश बोहोरालाइ ७ प्रश्न : जनतालाइ “गाउँ- गाउँ मा सिंहदरवार”को अनुभूति गराउछौँ ।

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुबाश बोहरासगँ आफ्नो सात नं वडामा भएका विकास निमार्ण,समस्या तथा सम्भावनाका बारे नेपालयन खबरले लिएको अन्तवार्ताको सम्पादित अंश

१.चुनावको बेला के कस्ता प्रतिबद्धता जनतासामु ब्यक्त गर्नु भएको थियो ?
सर्वप्रथम त नेपालयन खबरको सफलताको कामना गर्दछु । गत स्थानीय चुनावमा म तत्कालीन नेकपा एमालेबाट उम्मेद्वारमा सिफारिस भएपछि पार्टीको घोषणापत्रको आधार र जनताको समस्या पहिचान गरि घरघरमा खानेपानी, टोलटोलमा सडक, बिद्युतको पहुँच, गुणस्तरीय शिक्षा, सिंचाइमा पहुँच, मुख्य सडकको स्तरोन्नति लगायतका प्रतिबद्दता ब्यक्त गरेको थिएँ ।
२. निर्वाचित भएपछि तपाइले के के काम गर्नु भयो ?
वडाको सम्पूर्ण भागमा विद्युतीकरण भयो, प्रत्येक टोल सडक सन्जालले जोडिएकोछ जसको कारण जनताले नीजि आवास पुनर्निर्माणमा ठुलो राहत महसुस गरेका छन् । १ घर १ धारो खानेपानी कार्यक्रम तीव्र गतिमा छ जस अन्तर्गत २ योजना सम्पन्न भैसके, स्थानीय उत्पादनलाई सहज ढंगले बजारीकरण गर्न आइतबारे हाटको स्थापना गरियो । कृषकहरुलाई आयआर्जन बृद्धी गर्ने तालिम दिइयो । सिलाइबुनाइ तथा आधारभूत कम्प्युटर तालिम संचालन, भूकम्पले क्षति पुर्याएका मन्दिरहरु मर्मत लगायतका काम भए ।
३. पुनर्निर्माण कार्यक्रमको अवस्था कस्तो छ ?
७५३ घर लाभग्राही सुचिमा थिए जस मध्ये ७०० घर निर्माण भै सकेका छन । अरु ४०० /५०० घर लाभग्राही सुचिमा पार्नको लागि सिफारिस गरिएकोछ । लाभ ग्राही सुचिमा परेका घरहरु आ.वा ०७६/०७७ भित्र पुनर्निर्माण गरिसक्ने छौं ।
४. वडाको बजेट बिनियोजन कसरी गर्नु हुन्छ ? बजेट बिनियोजन गर्दा कुन क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुहुन्छ ? बताइदिनुन ।
साबिकका ९ वटै वडाहरुमा आम जनताहरुलाई सुचित गरि जनभेला गरिन्छ, भेलामार्फत प्राप्त जनगुनासो संकलन गरिन्छ, संकलित जनगुनासो र वाडाको नीति तथा कार्यक्रम अनुसार प्राथमिकताको आधारमा योजना छनौट गरिन्छ, यसरी छनौट भएका योजना वाडा समितिले निर्णय गरि गाउँ कार्यपालिकामा पठाइन्छ ।सरकारले बनाएको नियम अनुसार बजेट विनियोजनका ७ चरणहरु छन् । हामी नियम अनुसार नै बजेट बिनियोजन गर्छौं ।
शिक्षा, पूर्वाधार विकास, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, सीप विकास लगायतका क्षेत्रहरुलाई बढी प्राथमिकतामा राखिएको छ । शिक्षा विकासको पहिलो मेरुदण्ड हो । शिक्षाको विकास भएमा सर्वाङ्गीण ं विकास हुन्छ त्यसैले प्राथमिकताको साथ गत साल शिक्षामा वडाको कुल बजेटको १७% बिनियोजन गरियो ।
५. विकास निर्माणका कार्य तीव्र गतिमा हुँदा पर्यावरणीय श्रृंखलालाई कतिको असर पुगेको छ? रोकथाम गर्ने योजना बनाउनु भएको छ ?
विकास सँगै बिनास अनिवार्य हो । हामीले विकास निर्माण गर्दाको गतिविधिले पर्याबरणमा असर पुगेको छ । जसलाई रोकथाम गर्न आगामी दिनमा विकास निर्माण गर्दा योजना बनाएर गर्ने, दिगोविकासको अवधाराणलाई शीरोधार्य गर्ने नीति अपनाउने छौं ।
६. भाबी योजनाहरु केके छन् ?
समृद्ध लिखु, सुखी लिखुबासिनै भावी योजना हो । जस अन्तर्गत भैरहेका सडकहरुलाई स्तरोन्नति गर्ने, खानेपानीलाई सहज पहुंच पुर्याउने, पर्यटकीय क्षेत्रको विस्तार गर्ने, शिक्षाको गुणस्तरमा विस्तार गर्ने, सहिद पार्क स्थापना गर्ने ।
तिल्पुंगलाई छुट्टै पहिचानले स्थापित गराउन तिल्पुंग एक्लैको योजनाले सम्भव छैन । यसको लागि केन्द्रीय स्तरबाटै योजना बन्नु पर्छ । त्यसो भएमा तरकारी खेति, कागतिखेती, खोर्सानी खेति आदिको पहिचानले स्थापित गर्न सकिन्छ ।
७. ‘गाउँ गाउँमा सिंहदरबार’ जनताले प्रत्याभूत गर्न सकेका छन् ?
संघीयता स्वर्णिम परिकल्पना हो । लामो समयदेखि स्थानीय चुनाव नभएको, राजनीतिक पृष्ठभूमि भएका ब्यक्ति निर्वाचित नहुँदा र पालिकाले आवश्यक नीति बनाउन नसक्दा पुर्णरुपमा जनताले गाउँ गाउँमा सिंहदरबारको अनुभुति गर्न सक्नु भएको छैन । आगामी दिनहरुमा हामी जनतालाई अनुभूत गराएरै छोड्छौं ।

प्रतिक्रिया दिनुहोस