महिनावारी हुँदा कोठाबाहिरै कक्षा: देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास

जुम्ला । तातोपानी गाउँपालिका–८ बारागाउँकी १८ वर्षीया मुगा रावत गाउँकै जनजागृति आधारभूत विद्यालयमा सात कक्षामा पढ्छिन् । महिनावारी हुँदा विद्यालयको आँगनबाट अगाडि बढ्न उनलाई आँट आउँदैन ।

‘कक्षाभित्र कसरी जानू ? देउता रिसाउँछन् रे, देउता रिसाए विद्या नै हराउँछ रे,’ मुगाले भनिन्, ‘पाँच दिन कटेपछि मात्रै कक्षामा छिर्ने हो ।’

मुगाका साथीहरू हाँसकुरा रावत, अनिशा रावत र अञ्जली रावतले बुझेको पनि यत्ति नै हो । महिनावारी हुँदा सकेसम्म विद्यालय नै नआउने र आए पनि कक्षाभित्र नजाने उनीहरूले बताए ।

महिनावारी भएकी छात्रा विद्यालय आए सो कक्षाका सबै विद्यार्थीलाई विद्यालयको मूलढोकानजिक आँगनमा राखेर पढाइन्छ ।

‘कतिपटक त बाहिर बसेर पढिरहेका वेला पानी परेपछि बीचैमा घर जानुपरेको छ,’ हाँसकुराले भनिन्, ‘पालैपालो कोही न कोही महिनावारी होइन्छ, कक्षाभित्र पढ्ने त कहिलेकाहीँ मात्रै हो ।’ छात्रा मात्रै होइन, शिक्षिका पनि महिनावारी हुँदा कक्षाभित्र जाँदैनन् ।

समाजका अगुवा दाबी गर्नेहरूले नै विद्यालयका कोठाभित्र विगतमा देवीदेवताका मन्दिर रहेको र महिनावारी हुँदा भित्र गए देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास फैलाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस