असई केसी अख्तियारको नियन्त्रणमा,घटनाले लियो नयाँ मोड

काठमाडौं :- कात्तिक ३ मा बलात्कार अभियोगमा पक्राउ परेका सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेलको घटनामा नयाँ ट्वीस्ट फेला परेको छ । प्रहरीले नै युवती प्रयोग गरेर बलात्कार अभियोग लगाउने र मुद्दा फिर्ता लिने भन्दै मोटो रकम माग गरेपछि घटनाले अर्को मोड लिएको हो ।

पीडित परिवारका अनुसार सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेललाई बलात्कारको उजुरी दिन महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीले युवतीलाई प्रयोग गरेका थिए ।

केसीले नै बलात्कार अभियोगमा उनीहरूलाई फसाउने र मोटो रकम लिएर युवतीलाई मुद्दा फिर्ता लिने भूमिका खेलेको खुलेपछि घटनाले नयाँ मोड लिएको हो ।

पीडित परिवारबाट मोटो रकम माग गरेको प्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेपछि असई केसीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ ।

उसो त, पोखरेल र ज्ञानेन्द्र गजुरेलमाथि बलात्कार अभियोग लगाउने युवती नै असई केसीको प्रेमिका भएको खुलेको छ । केसी र उजुरी दिने युवतीको अन्तरंग फोटो शिलापत्रलाई प्राप्त भएको छ ।

केसीकै योजनामा उनकी प्रेमिकाले सन्देश र ज्ञानेन्द्रमाथि बलात्कार अभियोगमा ललितपुर प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ललितपुर प्रहरीले उनीहरू दुवै जनालाई ३ कात्तिकमा पक्राउ गरेको थियो ।

हाल ललितपुर जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी नै छ । पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन युवासंघ र गजुरेल नेविसंघका केन्द्रीय सदस्य हुन् ।

सहयोग माग्दै गजुरेलसँग भेट्न पुगेकी थिइन् युवती

घटना चलचित्रको कथाभन्दा कम छैन । असई केसी र युवतीको प्रेम सम्बन्ध करिब चार वर्ष लामो देखिन्छ । उनीहरूबीच नियमित भेटघाट र अन्तरंग सम्बन्धसमेत हुने गरेको थियो ।

ती सब अन्तरंग सम्बन्धका फोटोहरूसमेत युवतीले आफ्नो मोबाइलमा कैद गराउँथिन्, त्यो पनि केसीकै सहमतिमा । तर, यति हुँदा पनि उनीहरूको सम्बन्धमा खटपट सुरू भयो । त्यसपछि युवती असईबाट अलग हुन खोजिन् । तर, असई केसी त्यो मान्न तयार थिएनन् । त्यसैले असई केसीले युवतीलाई निरन्तर फोनमार्फत धक्की दिन थाले ।

असई केसीको धम्कीले आजित भएकी उनकी प्रेमिका ज्ञानेन्द्र गजुरेलसँग सहयोगको याचना गर्दै पुग्छिन् । ज्ञानेन्द्र र युवती फेसबुका साथी थिए ।

कहिलेकाहीँ फेसबुकमा बोल्ने ज्ञानेन्द्रले आफू राजनीतिक नेता भएको युवतीलालाई पहिला नै बताइसकेका थिए । त्यसैले पनि असई केसीकाे धम्कीले आजित उनी ज्ञानेन्द्रलाई भेट्न पुगिन् । उनलाई ज्ञानेन्द्रले असई केसीलाई सम्झाइदिन्छन् भन्ने आशा थियाे ।

यस्तो थियो घटना

२९ असाेजमा असई केसीकी प्रेमिका ज्ञानेन्द्र गजुरेललाई भेट्न ललितपुरको कुमारीपाटी पुग्छिन् । गजुरेल साथी सन्देशको कोठामा २८ कात्तिकदेखि नै बसेका थिए ।

कोठामा एक्लै भएका कारण ज्ञानेन्द्रले साथीकै सम्बन्धको रूपमा युवतीलाई सन्देशको कोठामा जाने अफर गरे । युवतीले सहजै स्वीकार गरिन् । साे दिन उनीहरू सन्देशकै कोठा बसे ।

सन्देश बाहिर थिए । उनी राति ११ बजे मात्र आफ्नो कोठामा पुगे । त्यो बेलासम्म ज्ञानेन्द्रलाई युवतीले असई उमेशले दिएको सबै धम्की सुनाइसकेकी थिइन् ।

ज्ञानेन्द्रले असई केसीलाई फोनमा समेत प्रहरी भएर केटीलाई नधम्क्याउन र अबदेखि धम्क्याए जागिर खाइदिने भन्दै धम्कीपूर्ण भाषामा फोनसमेत गरेका थिए । त्यो कुरा असई केसीलाई सह्य भएको थिएन ।

पीडित परिवारका अनुसार ज्ञानेन्द्रले असई केसीलाई ३० गते भेटेरसमेत सम्झाएका थिए । भेट फोनमार्फत आफ्नै प्रेमिका लिएर आफूलाई धम्काइ खाएपछि असई केसी तनावमा थिए ।

जब घटनाले अर्कै मोड लियो …

नेपालीमा उखानै छ– कहिलेकाहीँ नखाएको विष पनि लाग्छ । हो, सन्देश र ज्ञानेन्द्रलाई पनि त्यही भएको उनीहरूका आफन्त बताउँछन् । ३० असोजसम्म प्रेमी असई उमेश केसीले धम्की दियो भनेर सहयोग माग्न पुगेकी युवती २ कात्तिकसम्म आइपुग्दा पूरै युटर्न भइन् ।

दुई दिनअघि सहयोग माग्न ज्ञानेन्द्रकहाँ पुगेकी थिइन्, तर दुई दिनपछि उनै ज्ञानेन्द्रका विरूद्ध उल्टै बलात्कार गर्‍याे भन्दै प्रहरीमा उजुरी दिन पुगिन् । सोही उजुरीका आधारमा उनीहरू जेल पुग्न बाध्य भए । पीडित परिवारका अनुसार युवतीलाई हातमा लिएर केसीले नै निर्दोष ज्ञानेन्द्र र सन्देशलाई बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिन लगाएर फसाएका हुन् ।

६० लाखको बार्गेनिङ गर्दा अख्तियारको फन्दामा

अहिले असई केसी र उनकी प्रेमिकाको सम्बन्ध सुमधुर छ । साथीको सम्बन्धले सहयोग गर्ने सन्देश र ज्ञानेन्द्र जेलमा छन् । उनीहरू दुवै जना विवाहित पुरूष हुन् ।

आफ्नै प्रेमिका प्रयोग गरेर उजुरी दिन लगाएका असई केसीले फेरि आफैं सन्देश र ज्ञानेन्द्रका परिवारसँग ६० लाख रूपैयाँ दिए युवतीले मुद्दा फिर्ता लिने र उनीहरू छुट्ने भन्दै माग गरेका थिए । त्यसबापत उनले ५० हजार रूपैयाँ पेश्कीसमेत बुझेकाे पीडित परिवारको भनाइ छ ।

पीडित परिवारसँग गरेको विभिन्न फोन संवादका आधारमा असई केसीलाई नियन्त्रमा लिएको अख्तियार स्रोतको भनाइ छ । यसो त ९ मंसिरमा पीडित परिवारले ६० लाख रूपैयाँ लिन बोलाएको मध्ये ५७ लाख मात्र पुगेको भन्दै उनले झोलाभरि प्याक गरेर ल्याएको रकमसमेत हेरेर मात्र फर्केकाे भिडियो नै अख्तियार पुगको जनाइएको छ ।

असई केसीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । स्रोत शिलापत्र

प्रतिक्रिया दिनुहोस