परम्परागत अव्यवारीक उच्च शिक्षा: उर्जाशिल समयको बर्बादी

नवीन पौडेल/काठमाडौं :-   सिकाई मानव जिबनमा अन्योन्याश्रीत छ, जन्मदेखी मृत्यु पर्यन्त हामी केही न केही सिकिरहेका हुन्छौं। परापुर्वकालमा शैक्षिक प्रणाली धार्मिक तथा गुरुकुल पद्धतिबाट प्रारम्भ भएको मानिन्छ। मानवीय सभ्यताको तिब्र बिकास र समय परिवर्तन संगै सिकाइ औपचारिकता तर्फ शिक्षाको रूपमा परिमार्जन हुँदै गयो। शिक्षाको उदेश्य आफुलाई अबिब्यक्त गर्नु हो, बिशेषत उच्च शिक्षा बलियो जनशक्ति निर्माणको अवधी पनि हो । नेपालको सन्दर्भमा आज हामी केहि बाह्य रुपमा भौतिक संरचना र शैक्षिक क्रियाकलापमा परिमार्जित देखिएका छौं तर वास्तविक चुरो र भित्री उदेश्य भने ज्युका त्यु छ ! जबसम्म हामी उदेश्यलाई उचाई दिन सक्दैनौं अनेक कलरका चस्मा लगाएर हेरेपनि वास्तविकता उहीँ हो प्रगती पनि धरातलमै नाचिरहन्छ ।

हिजोको परम्परागत शिक्षामा संस्कृत र नेपालीका अक्षरहरु चिन्ने उदेश्य राखिएको थियो भने आजको आधारभूत शिक्षाले अलि धेरै अंङ्ग्रेजि अर्थात एबिसिडीमा केन्द्रित छौं उच्च शिक्षाले कायापलट गर्न सक्ने तात्विक फरक पारेको छैन भने यो प्रणाली पनि परम्परागत नै हो भन्न किन नमिल्ने ? हामी अहिले बिद्यालय तथा बिश्वबिद्धालयमा गएर सब्द-सब्द,वाक्य-वाक्य,हरफ-हरफ कन्ठस्त पारेर दक्ष जनशक्ति बन्ने होडको शिक्षा प्रणालीमा आइपुगेका छौं भने बिश्व समुदाय शैक्षिक प्रणालीलाई बृहत र बिस्तारीत गर्दै अत्याधुनिक प्रबिधि मार्फत जीवनउपयोगी सिकाईका आयामहरुलाई दिनानुदिन अगाडि बढाइरहेको छ जसले दक्ष जनशक्ति उत्पादन गर्दछ र ब्यक्ति तथा समग्र राष्ट्रलाई आत्मनिर्भर बनाउने ल्याकत राखेको हुन्छ । समय कुदिरहेको छ तर हामी र हाम्रो प्रणाली यथास्थितिमै अलमलिरहेको यथार्थ लुकाएर लुक्न सक्दैन यसर्थ हाम्रो शिक्षा र शैक्षिक प्रणालीलाई पनि प्रबिधि संग जोडेर नेपाली बाताबरण, हावापानी,माटो अनुकूल ब्यबहारिक बनाउंदै अहिलेको बिश्व बजारमा प्रतिस्पर्धा गर्न लायक बनाउनेतर्फ सोचेनौं भने शिक्षामा गरिएको लगानी बालुवामा पानी भैरहेको छ आगामी दिनमा युवाले खडेरी परेर देश काकाकुल बन्ने दर्दनाक शैक्षिक बेरोजगारी अवस्थाको भागिदार बन्ने पनि निस्चय नै छ ।

अहिले हामिले अपनाइरहेको बिश्वबिद्यालय ६औं सताब्दि मै बेलायतमा एकजना महारानीको अवधारणा थियो भन्ने किंवदन्ती छ, यो सताब्दिमा साक्षरता बिनाको मान्छे अन्धो मात्रै होइन इन्द्रिय बिहिन छ, हामी आधारभुत शिक्षाको पहुँचलाई सबैसमक्ष पुर्याउने कुरामा चाहिँ संयमित हुँदै गएका छौँ तर,समयको माग त्यतिमै सिमित नभई २१औ सताब्दी अनुकुल हुनुपर्छ,आज चाइना कोरियाको तल्लो तहमा अध्यन गरेको विद्यार्थी हाम्रो ग्रजुएट गरेको भन्दा गुणौ सिपयुक्त छ। एकतर्फी प्रतिशत साक्षर बनाउने अभियानमा अर्कोतर्फ बिशेश गरि उच्च शिक्षामा ब्यबहारिकता, उत्पादनशिलता सहित दक्ष जनशक्ति निर्माण गरि आत्मनिर्भरताको बाटो देखाउन सकेनौ भने त्यो शिक्षा बुर्जुवा नै हो हामी अहिले त्यसैमा लगानी गरिरहेका छौँ आखिर यसले नतिजा दिन सक्दैन । एउटा भनाइ पनि छ “यदि तिमि हिडिरहेको बाटोले गन्तव्य भेटाउन सकेनौं भने निरन्तरता नदेउ बाटो बदल” हामी अहिले सोही भनाइलाई आत्मसात गर्नुपर्ने संघारमा आइपुगेको त होईन ! त्यसैले कि त यसैलाई सुधार गर्ने ताकत राख्नुपर्यो नत्र विकल्पको बाटो नखोजिए यो परम्परागत शिक्षा प्रणालीले देशलाई झनै पछि धकेल्ने छ, करोडौं युवाको भविस्य सदिऔ खाडीमा अन्योलग्रस्त भौतारिरहनेछ।

आज भयानक समस्याको रूपमा शैक्षिक बेरोजगारको ठुलो पंक्ति बिश्व श्रम बजारमा बेचिन बाध्य छ । त्यस अन्तर्गत बार्षिक ५० लाख युवा बिदेश भसिएका छन् जसको २०% भन्दा माथी शैक्षिक बेरोजगार र शिक्षा आर्जनको शिलशिलामा अमेरिका,अष्ट्रेलिया,युरोप लगायतका देशहरूमा गुणस्तरीय शिक्षाको लागि महङ्गो मुल्य तिरेर बिदेशिन बाध्य छन् यसले यहाँको पहिलो श्रेणीका विद्यार्थीलाई निर्यातको बाटो बनाएको छ जसले मुलुक बनाउन सक्ने दक्ष जनशक्ति हुन् त्यसैगरी दोश्रो तेस्रो… श्रेणीका विद्यार्थी बेरोजगारी थिचिएर खाडिको ५५° मा आफ्नो ज्यु ज्यानलाई जोखिममा राखेर रेमिटान्सले देश धानिरहेको छ । राजनीतिक परिवर्तनले बिकासको कायापलट गर्न सक्थ्यो त नेपाल बिश्वमै शक्तिशाली हुने थियो किनकि यहाँ हरेक एक दसकमा एउटा ब्यबस्था परिवर्तन भएका छन् तर त्यो होइन, हामिलाई अड्काएको बिषय नै नेपाली माटो अनुकुल उत्पादनशिल शिक्षा प्रणालीलाई अपनाउन सकेनौं कि भन्ने हो । हाम्रो जस्तो बिकासोन्मुख देशमा यी दुबैलाई संगै अगाडि बढाउनु पर्ने टट्कारो आवस्यकता छ नत्र अहिलेका हाम्रा देश बिकासको परिकल्पना सपनाहरुकै रूपमा अड्किनेछन् ।

स्वदेश भित्रका अनेकौं संभावनाहरु जनशक्तिको अभावमा मृत्यु शैयामा छन् जून जनशक्ति हामी युवा नै हौं यधपी हाम्रो शिक्षाले चिकित्सक बनाउने ल्याकत राख्न सक्नुपर्ने हो। हाम्रो जसलाई ताकत दिने तत्त्व भनेकै ब्यबहारिक तथा बैज्ञानिक शिक्षा प्रणाली हो । हामिकहा अहिले २१ औं सताब्दिका विद्यार्थीलाई २० औं सताब्दिका शिक्षक १९ औं सताब्दिको पाठ्यक्रम १८ औं सताब्दिको विधि मार्फत पढाईदै आएको छ यसले खासै ठुलो परिमाणात्मक परिवर्तन ल्याउन सक्दैन । स्नातकोत्तर अध्यन सकाएर स्वदेशको संभावनालाई पहिचान गर्न सक्दैन,बाच्न सक्ने सीप छैन,काम गर्ने बाताबरण छैन र अन्तिम विकल्पमा उ खाडीमै भासिन बिबस छ भने त्यो प्रमाणपत्रको औचित्य के ? समृद्धिका लागी अबको शिकाईले अंक होईन ढंग दियोस ! प्रमाणपत्र होईन उत्पादन परिणाम दियोस ।

प्रतिक्रिया दिनुहोस