संसदीय विशेष समितिद्वारा प्रदेश ५ को नाम ‘लुम्बिनी’ सिफारिस

बुटवल :- प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ(लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको हो । राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभाको बैठकले २०७५ साउनमा संसदिय बिशेष समिति गठन गरेको थियो ।

पहिलो पटक ३ महिना कार्यादेश दिइएको उक्त समितिले पहिलो ३ महिना बैठक नै बस्न नसकि म्याद गुजारेको थियो । समितिले पहिलो कार्यदेश भित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः म्याद थप गरी जिम्मेवारी दिईएको थियो ।

तोकिएको जिम्मेवारी छोडेर भारतको हरियाणा र पन्जावको राजधानी भ्रमणमा गएको भन्दै चौतर्फि आलोचना भएका बेला समितिले नाम र राजधानी सिफारिसको टुंगो लगाएको छ ।
राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भए पनि राजधानीका विषयमा पार्टी्भित्र एकमत छैन । नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक–एक सांसद छन् ।

२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना गुजारेर राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा समितिले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस