दाङ :- तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियान ५२ हप्तासम्म विभिन्न कार्यक्रम गर्ने भएको छ । विभिन्न संघसंस्थाको सहयोगमा ५२ हप्ता नै विभिन्न कार्यक्रम गरेर अभियान सञ्चालन गरिने तुलसी उपमहानगरले जनाएको छ ।
अभियानका बारेमा सरोकारवालासँगको छलफल कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले देशभित्रका पर्यटकलाई लक्षित गरेर अभियान सञ्चालन गरिने बताउनुभयो। अभियानको तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यानबाट उद्घाटन गरिने भएको छ । घुम्न जाउँ तुलसीपुर अभियानको लोगो र वार्षिक पर्यटनको कार्यतालिका सहित अभियानको उद्घाटन गरिने उहाँले बताउनुभयो ।
नगरप्रमुख पाण्डेले अभियानका क्रममा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत जानकारी दिनुभयो । पर्यटकहरुलाई अनुकुल वातावरण वनाउनका लागि सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्ने कुरामा जोड दिदै नगरप्रमुख पाण्डेले सबै क्षेत्रलाई पर्यटक मैत्री बनाउनु आजको आवश्यकता भएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका पूर्व निर्देशक रमेश अधिकारीले सुन्दरता नै पर्यटन आकर्षणको मुलमन्त्र भएको बताउनुभयो । “खाना, व्यवहार,वस्ने,हेर्ने सबै कुरामा सुन्दरता भयो भने मात्रै पर्यटनको केन्द्र वन्न सक्छ” उहाँले भन्नुभयो । वाह्रै महिना कुनै न कुनै उत्सव मनाएर तुलसीपुरलाई महोत्सवको शहर वनाउनुपर्ने कुरामा उहाँको जोड थियो ।
कार्यक्रममा वडाध्यक्ष टोपवहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर खानेपानी तथा सरसफाई समितिका कोषाध्यक्ष सीताराम आचार्य लगायत विभिन्न सुझावहरु दिएका थिए ।