नेकपा स्थायी कमिटी बैठक : सीमा विवादलगायत पाँचवटा एजेण्डा प्रस्तुत

काठमाडौं :-  आज (आइतबार) देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डा प्रस्तुत भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पाँच वटा एजेण्डा प्रस्तुत गरिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

१६ पृष्ठ र सात वटा शीर्षक रहेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचनको समिक्षा, पार्टीको भावी कार्य योजनालगायतका विषय समेटिएका छन् ।

दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा नियमित स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउन नसकेको प्रति आत्मालोचना गरिएको छ ।

यस्तै, महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तुत विधान संशोधन प्रस्तावमा यसअघि सचिवालयले गरेका सम्पुर्ण निर्णय अनुमोदन प्रस्तावलगायतका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्यलाभको कामना प्रस्ताव पारित गरिएको छ । यस्तै, स्थायी कमिटी बैठकमा नेपाल–भारत सिमा सम्बन्ध,आगामी केन्द्रीय समिति बैठक र विविध गरी पाँच एजेण्डा प्रस्तुत गरिएको छ ।

प्रस्तुत एजेण्डामाथी भोलीदेखि छलफल हुनेछ । स्थायी कमिटी सदस्यहरुले प्रस्तुत एजेण्डामाथी आफ्नो धारणा राख्नेछन् । बैठक भोलि (सोमबार) बिहान ११ बजे पुनःबस्नेछ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रत्येक तीन–तीन महिनामा स्थायी कमिटी बैठक बस्ने र प्रत्येक छ–छ महिनामा केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

यसअघि एक वर्ष अघि अर्थात अघिल्लो वर्ष मंसिर २९ गते स्थायी कमिटी बैठक बसेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि सपथ ग्रहण बाहेक एक पटकपनि केन्द्रीय समिति बैठक बस्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस