बिबिध कार्यक्रम गरि नेपाल पत्रकार महासंघ दाङले स्थापना दिबश मनाउने

दाङ :-   नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो । निर्णयअनुसार पौष १ गते देखी ४ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
जसअनुसार पौष १ गते बिहान ८ बजे घोराहीमा रक्तदान र शाखा परिसर सरसफाई, पौष २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकारहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, पौष ३ गते तुलसीपुरमा पत्रकारहरुका लागि निशुल्क आँखा शिविर र पौष ४ गते घोराहीमा पुरस्कार तथा सम्मान वितरण समारोह आयोजना गरिएको शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।
यस्तै बैठकले पुरस्कार तथा सम्मानका लागि प्रतिभा छनौट गर्न शाखा अध्यक्ष प्रियासन, सचिव भुपेन्द्र वली र उपाध्यक्ष लीला शाह रहेको ३ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको छ । यस्तै शाखाका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माकी जीवनसंगिनी तथा शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मी आमा एवं शाखाकी पूर्व उपाध्यक्ष लक्ष्मी आचार्यकी सासुआमा रोहीणीदेवी शर्मा गत मंसिर २ गते तथा शाखाका साधारण सदस्य विष्णु प्रसाद पोख्रेलका बुवा ज्योतीखर पोख्रेलको मंसिर २८ गते निधन भएकोमा दुःख प्रकट गर्दै बैठकबाट शोकप्रस्ताव पारित गरेको छ ।
साथै स्थापना दिवसका सन्दर्भमा शाखाको तर्फबाट घोषणा गरिएका सम्पूर्ण कार्यक्रममा सक्रिय रुपमा सहभागि हुनका लागि सबैमा हार्दिक अपिल गरिएको शाखा सचिव भुपेन्द्र वलीले जानकारी दिनुभयो । बैठक शाखा अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस