सोलुखुम्बुमा हिमपात, चिसोले जनजिवन प्रभावित

सोलुखुम्बु :-  सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर सिमसिम पानी परेपछि जनजिवन प्रभावित बनेको छ । शुक्रबार विहनदेखि मौसममा खराबी आएपछि हिँउ तथा पानी पर्दा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ भने पशु चौपायाहरु समेत प्रभावित भएका हुन् ।

खुम्बुक्षेत्रमा करिब एक फिट हाराहारीमा हिमपात भइरहेको र हिउँ पर्ने क्रम लगातार भएकाले बिहानसम्म दुई फिटसम्म हिउँ जम्न सक्ने खुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारी मिश्रकाजी तामाङले जानकारी दिए । उनकाअनुसार दिउँसोनै माइनस २ डिग्री सेल्सीयस तापक्रम रहेकाले चिसो धेरै भएको छ ।

सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकोले चिसोमा अत्यिधक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्ग लगायत आधा दर्जन गाउँ सहित आसपासका क्षेत्रहरुमा समेत हिउँ परेको छ भने अधिकाँश क्षेत्रमा हिमपात भइरहेको छ ।

लामोसमयपछि हिउँपानी परेकाले कृषकहरुमा भने उत्साह जागेको पाइएको छ । आलु र मकै रोप्ने समयम भएकाले अहिलेको पानी धेरै महत्वपुर्ण भएको कृषकहरुको भनाइ छ ।

यो सिजनको पहिलो पटक हिमपात भएकाले हिउँमा खेलेर रमाउनेका पनि संख्या निकै रहेको छ । केही दिनदेखि चिसो बढ्दै गएको अवस्थामा हिँउ परेपछि अत्याधिक चिसो बढेको छ ।

जिल्लामा चिसोका कारण जिल्लाको जनजीवन विस्तारै कष्टकर बन्दै गएको छ । हिँउले गर्दा मानिसलाई भन्दा पनि पशुपंक्षीलाई कष्ट भएको छ ।

हिउँ पर्दाका लागि जोहो गरेको दाउरा, चौंरी तथा गाईलाई खुवाउन राखेको घाँस समेत बारीमा लिन जान नसकेपछि जनजीवनमा झन थप कष्ट थपिएको हो ।

प्रतिक्रिया दिनुहोस