१३औं ‘साग’ भव्यतापूर्वक सम्पन्न, प्रधानमन्त्री ओलीले खेलाडीका लागि विशेष ‘प्याकेज’ दिने

काठमाडौं :- काठमाडौं, पोखरा र जनकपुरमा भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको छ ।

मंगलबार दशरथ रंगशालामा विशेष ‘प्याकेज’सहितको समापन समारोह आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो ।

सो समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश देखाइएको थियो ।

उनले कमजोर संरचनालाई पुनःनिर्माण गरेर ‘मिनि ओलम्पिक’ मानिने सागलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्ने सबैप्रति आभार व्यक्त गरे ।

त्यस्तै, समापन कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छिमेकी राष्ट्रहरुप्रति सागले आपसमा थप मित्रता कायम गरेको दाबी गर्दै सहभागी सातै देशका सबैप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं साग आयोजना गरेर नेपालीहरुको दुःखी अनुहारमा खुसी भर्न सफल भएको दाबी गरे ।

बुधबार (भोलि) नेपाली सबै पदकधारी खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बधाइ कामनासहित विशेष प्याकेज घोषणाका लागि निम्तो गरेको पनि सदस्यसचिव सिलवालले बताए ।

समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुको सुखद भविष्यको कामना गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशी खेलाडी, खेलकर्मी तथा पदाधिकारीलाई आग्रह गरे ।

विभिन्न वीरताका गाथासहितको विशेष कार्यक्रमको आयोजनासहित सागको समापन गर्दैै १४औं साग आयोजनाका लागि पाकिस्तानलाई सागको झन्डा हस्तान्तरण गरिएको छ ।

समापन समारोहको अन्तिममा आतिसबाजी गर्नुका साथै १५० ओटा ‘ड्रोन’ प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस