काठमाडौं :- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई आज भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुनेछ । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ ।
खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उहाँले भन्नुभयो । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ ।
उहाँले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताउनुभयो ।
सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गरे । मङ्सिर १५ गतेदेखि शुरु भएको १३ औँ सागको मङ्गलबार समापन हुँदैछ ।