राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले सरकारलाई परामर्श पेस गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ ।

तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छ ।

यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्यबाट सातजनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचनमन्डल रहनेछ ।

आयोगकाअनुसार आगामी निर्वाचनमा प्रदेश नम्बर-१ मा महिला एक, दलित एक र अन्य एक गरी तीन, प्रदेश नम्बर-२ मा महिला एक, दलित एक, अल्पसंख्यक एक र अन्य एक गरी चार, प्रदेश नम्बर-३ मा महिला एक र अन्य एकजना गरी दुई पदका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, गण्डकी प्रदेशमा महिला एक र अन्य एक गरी दुई तथा प्रदेश नम्बर-५ मा महिला एक, अल्पसंख्यक एक र अन्य एक गरी तीन, कर्णाली प्रदेशमा महिला एक, अन्य एक गरी दुई र सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य एक गरी दुई पदका लागि आयोगबाट निर्वाचनको तयारी गरिएको छ ।

स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ ।