पार्टी भित्र अन्तरघात गर्नेलाई कार्वाही गर्छौं : सभापति देउवा

भैरहवा :-  नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही गरिने चेतावनी दिएका छन् । उनले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गर्दै अन्तरघातीलाई कार्वाही गरिने बताएका हुन् ।

नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल÷ह्वील चियर वितरण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा बसेर अन्तरघात गर्नेलाई कार्वाही नहुदा सम्म पार्टिले हारिरहने बताए ।

“अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता÷कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन्, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ, उनले भने यसमा दृढ भएर कार्वाहीमा लाग्छु सबैले सहयोग गर्नुस ।”

देउवाले पार्टी भित्र अन्तरघात भएसम्म काँग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दावी गरे । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएकोमा खुशि व्यक्त गर्दै देउवाले राम्रोसंग जनताको काम गरे अबको चुनावमा कांग्रेसले राम्रो स्थान लिजने बताए । “विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो, उनले भने ।

कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो । सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गरे ।

कांग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा मिल्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताए । उनले केपी ओली नेतृत्वको सरकारले नागरिकको अधिकार खोस्न खोजेको बताए ।

जनताको पक्षमा कांग्रेसका प्रत्येक कार्यकर्ता बलिदान दिन तयार रहेको खांणले दावी गरे । “कांग्रेस मतमा केही कमजोर देखिएको छ, तर सधैभरी यो रह्दैन, खोलामा कहिले बाढी आउँछ र त्यही खोला कहिलेकाहीं सुख्छ, उनले भने ।” सरकारले गर्नुपर्ने काम कांग्रेसले प्रतिपक्षमा बसेर पनि गरेको उनले बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल तथा ५ वटा ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस