मन्त्री नेम्बाङले लिए एक्सन : जोरपाटी-सून्दरीजल सडक विस्तारका लागि गराए पाँच निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरपाटी–सून्दरीजल सडकखण्ड विस्तारका लागि पाँचवटा निर्णय गरेको छ ।

उक्त निर्णय मध्ये पहिलो निर्णयको काम सुरुसमेत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सरोकारवाला निकायहरुलाई बोलाएर सडक विस्तारका लागि पाँच निर्णय गराएका हुन् ।

मन्त्री नेम्बाङको उपस्थितिमा मन्त्रालयमा भएको बैठकले उक्त सडकखण्डका लागि पाँचवटा कार्य तत्काल सुरु गर्ने गरी निर्णय गरिएको हो ।

जोरपाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउन सुरु गरीएको छ । मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएपछि काम सुरु गरिएको हो ।

सात किलोमिटर रहेको उक्त सडकखण्डको नगरपालिकाका प्राविधिकहरुको टोलीले २२ मिटर चौडा हुनेगरी नापजाँच गरी कामको थालनी गरिएको हो । अहिले सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य भइरहेको  छ ।

लामो समयदेखि उक्त सडकखण्ड अस्तव्यस्त छ । ठाँउ–ठाँउमा खाल्डाखुल्डी परेका छन् । कतै पानी जमेको छ । पर्यटकीय क्षेत्र यो सुन्दरीजल घुम्न जाने मुख्य सडक यो क्षेत्रमा पर्यटकलाई समेत सास्ती हुने गरेको थियो । सडक विस्तारको काम सुरु भएपछि स्थानीयहरु उत्साहित बनेका छन् । पर्यटकसमेत थपिने सरोकारवालहरु बताउँछन् ।

केन्द्रिय योजनामा परेको उक्त सडक ०७३ असारमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ०७५ असारमा सक्नुपर्ने थियो ।

तर, ठेकेदार कम्पनीको लापरबाहीले सम्झौता अनुसार काम पुरा भएको थिएन । काम नभएपछि स्थानीयवासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै पटक–पटक सडक अबरुद्धसमेत गर्दै आएका थिए ।

बिहीबार मन्त्रालयले त्यस क्षेत्रका संसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फूएँल, विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, नोल टेलिकमका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त निर्णय गरेको थियो ।

बिहीबार उक्त निर्णयपछि शुक्रबारबाट सडक विस्तारको काम सुरु गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस