दिल्ली–चितवन चल्ने बसबाट अवैध सामान बरामद

नवलपरासी । पश्चिम नवलपरासीको प्रहरीले दिल्लीदेखि चितवन चल्ने पर्यटक बसबाट एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा ना८ख १२०३ नम्बरको बसबाट उक्त सामान बरामद गरेको हो ।

कालो नम्बर प्लेटको उक्त बसलाई पर्यटक बस लेखेर चलाइएको छ ।

रुपन्देहीको बेलहिया नाकाबाट भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

बसको छतमा लामो टिनको फल्ट बटम बनाएर उक्त सामान लुकाइएको थियो ।

बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाइल, १८ बोरा ट्रयाकसुट र ८ कार्टुन औषधि रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस