बूढीगण्डकी आयोजना – ५० हजार देखि सात लाखसम्म मुआब्जा

धादिङ :- बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जा निर्धारण गरिएको छ ।

दुवै जिल्लाको मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरी मूल्य निर्धारण गरिएको हो ।

जग्गाको अवस्था हेरेर प्रतिआना न्यूनतम ५० हजारदेखि अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

गोरखाको आरुघाट क्षेत्रमा ५ सय ३७ र आर्खेत क्षेत्रमा ७२ रोपनी तथा धादिङको खहरे क्षेत्रको २ सय ४५ र आरुघाट विशालनगरको ९ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएको हो ।

जसअन्तर्गत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँहरुमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँहरुमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गाहरुमा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैयाँ तोकिएको छ ।

बूढीगण्डकी आयोजनाबाट गोरखाका १४ र धादिङका १३ वटा साविक गाविसहरु प्रभावित हुनेछन् । आयोजना निर्माणका लागि ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

बूढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्व ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको इकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस