सागमा आज १५ खेल हुने, महिला भलिबलमा नेपाल र भारत भिड्ने

काठमाडौं :- १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’मा आज विभिन्न १५ खेलका भिडन्त हुँदैछन् ।

आज काठमाडौंमा एथलेटिक्स, पुरुष क्रिकेट, साइक्लिङ, पुरुष फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, लन टेनिस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसुका खेलहरु हुनेछन् ।

यसैगरी ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथ्लनका खेलहरु पोखरामा हुनेछ । आज भलिबलतर्फका फाइनल खेलहरु हुँदैछन् ।

महिलातर्फ उपाधिका लागि नेपाल र भारत भिड्नेछन् । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको हो ।

भारतले भने सेमिफाइनलमा माल्दिभ्सलाई पाखा लगाएको थियो । समूह चरणको खेलमा नेपाल र भारत भिड्दा भारत ३–० को सोझो सेटमा विजयी भएको थियो ।

आज नेपालललाई उक्त हारको बदला लिने अवसर जुरेको छ । भलिबलकै पुरुषतर्फ आज उपाधिका लागि भारत र पाकिस्तान भिड्दैछन् । यसैबीच फुटबल पुरुषतर्फ आज नेपालले भुटानको सामना गर्नेछ ।

समूहमा नेपालको यो पहिलो खेल हो भने भुटानको दोस्रो खेल हो । भुटानले हिजो भएको उद्घाटन खेलमा बंगलादेशलाई १–० ले हराएको थियो ।

५ टोली सहभागी पुरुष फुटबलका खेलका राउण्ड रोबिन ढाँचामा काठमाडौंको दशरथ रंगशालामा भइरहेको छ । लिग चरणको शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस