उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा बेलेनसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउँदै २ देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताएका थिए। दुई देशबीच समानता रहेको बताउँदै उने भने, ‘नेपाल र अष्ट्रिया दुबै भूपरिवेष्ठित र पहाडी मुलुक हुनाले धेरै कुराहरु समान छन्,’
भेटमा उपराष्ट्रपतिले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रा धेरै धारणा समान छन्।’ ‘प्राकृतिक सम्पदा, संस्कृति, पर्यटन, कृषि, केवलकार, जलविद्युतका क्षेत्रहरुमा अष्ट्रियासँग हामी सहकार्य गर्न सक्छौँ’, उहाँले भन्नुभयो, ‘यी क्षेत्रमा लगानीका लागि म अनुरोध पनि गर्दछु,’ उनले भने।
उपराष्ट्रपति पुनले अष्ट्रियाको अनुभव र विकास प्रविधि नेपालले सिक्न चाहेको उल्लेख गरेका थिए। भेटका अवसरमा उपराष्ट्रपति पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरेका थिए। ‘नेपाललाई हवाई सुरक्षा (सेफ्टी)मा धेरै सुधार गरेको छ। दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छन्,’ उपराष्ट्रपतिले भने, ‘नेपालले हवाई सुरक्षामा गरेको सुधारका आधारमा यूरोपियन यूनियनले नयाँ दृष्टिकोण बनाउनेछ भन्ने विश्वास लिएको छु।’
भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेनले अष्ट्रिया र नेपालबीच धेरै कुरामा समानता रहेको बताएका थिए। उनले दुबै देश पहाडले भरिएको बताउँदै सम्बन्ध पनि प्रगाढ भएको बताएका थिए। ‘अष्ट्रियाको भन्दा नेपालमा धेरै ठूला पहाडहरु छन्। नेपालमा अग्ला पहाड र अष्ट्रियामा होचा पहाड भए पनि हाम्रा सोंचाईहरु समान छन्,’ उनले भने। अष्ट्रियाका राष्ट्रपतिसँगको भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका नीजि सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल समेत सहभागी थिए।