दुई बच्चाकी आमाले जितिन् एकै दिन दुई स्वर्ण

काठमाडौं :- दुई बच्चाकी आमा आयशा शाक्यले एकै दिन दुई स्वर्ण पदक पाएकी छिन् १२ औं सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए । उनी आफैलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन ।

उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो । तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रचिन ।

यसपटक उनले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जितेकी हुन । सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला हुन । त्यस्तै, सागमा महिलातर्फ सर्वा्धिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उनले आफ्नो स्वर्ण संख्या ३ पुर्‍याइन । ‘१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,’ सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भनिन, ‘धेरैले सुझाव दिन्थ्यें । खेल्न छाडेर बच्चा हुर्काउन लाग । तर दीपकले सधैं हौस्याँइरहे ।’

उनका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुन, जसले लगातार चार संस्करणमा चार स्वर्ण जितेका छन । विष्ट अहिले प्रशिक्षक छन । आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा ‘गेरुगी’ छाडेर ‘पुम्से’ विधा रोज्न लगाएका हुन । ‘ यो मेरो एक्लो उपलब्धी होइन । मेरो सर्वा्धिक ठूलो सफलताको सारथी नै दीपक हुन,’ दोहोरो स्वर्ण जितेपछि यति भन्दै उनी रुन थालिन । दुई छोरा आदिश र आधारलाई डोहोर्‍याउँदै दीपक आयशालाई बधाई दिन आए, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन ।

प्रतिक्रिया दिनुहोस