पोखरामा नेकपाको विजय र्‍याली, सुकुम्वासीलाई एक वर्षभित्रमा लालपुर्जा : भट्टराई

पोखरा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले सोमबार पोखरामा विजयी र्‍याली निकालेको छ ।

कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका खेमराज पौडेललाई भारी मतान्तरले पराजित गरेकी थिइन् ।

पोखराको महेन्द्र पुलबाट सुरु भएको विजयी र्‍याली चिप्लेढुंगा, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।

नेकपाका सर्मथकहरुले निर्वाचित भट्टराईलाई फूलमालाले सम्मान गरेका थिए ।सभामा बोल्दै नवनिर्वाचित सांसद भट्टराईले समृद्ध पोखराका लागि भूमिहीनहरुको समस्यालाई सम्बोधन गर्न प्रदेश, स्थानीय सरकारलाई झकझक्याउने बताइन् ।

उनले पोखरामा रहेका सुकुम्वासीहरुलाई एक वर्षभित्रमा लालपुर्जा दिने प्रतिबद्धतासमेत जनाइन् ।

भट्टराईले कुल खसेको मतमध्ये २४ हजार ३९५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी पौडेलले १५ हजार ९८६ मत ल्याए ।

भट्टराईले पौडेलभन्दा ८ हजार ४०९ मत बढी ल्याउँदै जित हासिल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस