कास्की २ मा विद्या भट्टराई निर्वाचित

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

निर्वाचित भएको   घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यही कारण रिक्त भएको प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा १४ मंसिरमा उपचुनाव भएको थियो ।

मत गणना सकिए लगतै कांग्रेस उम्मेदवार पौडेलले भट्टराईलाई बधाई दिएका थिए । उनले राम्रोसँग काम गर्न समेत आग्रह गरे ।

साझा पाँचौं, विवेकशील कहाँ ?

कास्की २ को चुनावमा समाजवादी पार्टी तेस्रो स्थानमा रहृयो । उसका हेमराज गुरुङले १ हजार ९२२ मत पाए । रापप्रपनाका रोमबहादुर भण्डारीले ११ हजार १५३ मत पाउँदा साझा पार्टीकी राजनी केसी ९४२ मतका पाथ पाँचौं स्थानमा रहृयो ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले यो उपचुनावलाई मिनीजनमत संग्रह भनेको थियो र कास्की २ बाट विजयको विगुल फुक्ने दाबी गरेको थियो । तर चुनावको पूर्वसंध्यामा पार्टी प्रवेश गरेकी केसीले साझाको अपेक्षा अनुसार मत पाइनन् ।

यस्तै विवेकशील नेपाली दलकी जमुना शर्माको मत १०० पनि कटेन । उनले मात्र ७७ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस