आफ्नो भागमा नगरपालिकाले योजना नपारको भन्दै उपप्रमुखले गरिन् अाफ्नै कार्यलय तोडफोड।

जनकपुर- रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौशन खातुन शेखले आफ्नै कार्यालयका सामग्री तोडफोड गरेकी छन्। आफ्नो भागमा नगरपालिकाले योजना नपारको भन्दै उपप्रमुख खातुनसहितको समूहले आईतबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा तोडफोड गरेकी हुन्।

उपप्रमुख खातुनको तोडफोडबाट प्राविधिक शाखाको एक थान ल्यापटप, एक थान कम्युटर तोडफोड तथा कार्यालयका कागजात च्यातिएको नगरपालिकाका ईन्जिनियर प्रवीण साहले जानकारी दिए।

योजना शाखाको समानसमेत तोडफोड गर्ने प्रयास असफल भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए। तोडफोडमा संलग्न रहेका ४ जना विरुद्ध सोमबार प्रहरीमा किटानी जाहेरी दिनेसमेत नगर प्रमुख चौधरी जानकारी दिए। नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उपप्रमुखकै अध्यक्षतामा पास भएको र अहिले आफैँले असहमति जनाउँदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप उनले लगाएका छन्।

नगर प्रमुख चौधरीले आफूलाई असफल बनाउन उपप्रमुखका श्रीमान् शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको दाबी गरे।

तोड़फोडमा उपप्रमुख रौशन खातुन शेख स्वयम् उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको प्रमुख चौधरीले बताए।

प्रशासकीय प्रमुख जामुन चौधरीले आफूहरूले नगरको विकास चाहेको भएपनि उपप्रमुखका परिवारको मनलाग्दीका कारण उपप्रमुख अराजक भएको बताए। त्यस्तै नगरपालिकाका कर्मचारीहरुले उपप्रमुखको मनोमानीका कारण आफूहरुले काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीचको विवादका कारण विकास निर्माणको काम प्रभावित बन्दै आएको छ।

गुजरा नगरपालिका प्रमुख धामी र खातुन एकै पार्टी राजपाबाट निर्वार्चित प्रतिनिधि हुन्। यता उपप्रमुखले कार्यालयमा गरेको तोडफ़ोडको विरोधमा स्थानीयले उपप्रमुख खातुनको कार्यकक्षमा ताला लगाएका छन्।

उता उपप्रमुख खातुनले भने आफ्नो योजनाअनुसार काम नभएका कारण बाध्य भएर तोडफोड गर्नु परेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस