ठेकेदारको लापरबाही, अझैसम्म बलेनन् शुक्लागण्डकीमा सडक छेउका सौर्य बत्ती

दुलेगौंडा :- शुक्लागण्डकी नगरपालिकाका मुख्य बजारमा राखिएका सौर्य सडक बत्ती अधिकांश बिग्रेका छन् । नगरको दुलेगौंडा, कोत्रे र खैरेनीटार क्षेत्रमा ४ वर्षअघि बत्ती जडान गरिएको थियो ।

सोलार बत्ती तत्कालीन स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा २ आर्थिक वर्षमा १ सय ३६ वटा राखिएका हुन् । आर्थिक वर्ष २०७२÷०७३ मा ६८ र आव ०७३÷०७४ मा ६८ वटा पोलमा राखिएका हुन् । शुरुमा दुलेगौंडामा ४० र २८ वटा खैरेनीटारमा राखिएको नगरपालिकाका इन्जिीनीयर तारापती भट्टराईले शुक्लागण्डकी एफएमलाई जानकारी दिए । दोस्रो वर्षमा त्यतिनै संख्यामा थप गरिएको हो । दुलेगौैंडा र कोत्रेमा ८० र  खैरेनीटार क्षेत्रमा ५६ स्थानमा सोलार बत्ती जडान गरिएको थियो । सौर्य सडक बत्ती सञ्चालन कार्यविधी–२०७२ अनुसार बत्ती राखिएको ई. भट्टराईले बताए । ‘दुबै स्थानमा उपभोक्ता समिति गठन गरि सोलार बत्ती राखिएको हो,’ उनले भने, ‘प्रति पोल १ लाख १ हजार रुपैया परेको छ  ।’ कुल १ करोड ४९ लाख ६ हजार रुपैयाको लागतमा १ सय ३६ वटा सोलार बत्ती राखिएको नगरपालिकाले जनाएको छ । यसमा १५ प्रतिशत नगरपालिका र २० प्रतिशत उपभोक्ताले व्यहोरेका हुन् । सौर्य बत्ती ५० मिटरको दुरीमा राखिएका छन् । सोलार प्यानलबाट ब्याट्रि चार्ज भएर बल्ने गर्दछ । बत्ती ‘सेल्फ सिस्टम’ का हुन् ।

सौर्य सडक बत्ती उपभोक्ता समिति, खैरेनीटारका तत्कालीन अध्यक्ष अजुर्न कुमार श्रेष्ठले जडान गरिएको ६ महिनापछि बत्ती बोल्न छोडको बताए । शुरुको वर्ष राखिएका सौर्य बत्ती बिग्रीएका हुन् । पछिको वर्ष राखिएका बत्तीमा भने कुनै समस्या नरहेको उनको भनाई छ । ‘हामीले बत्ती बिग्रने बित्तिकै नगरपालिकालाई जानकारी गराएका हौं, त्यति बेला जनप्रतिनीधी आइसकेका थिएनन,’ उनले भने, हामी ते भनिरहेका छौं, तर टेरेका छैनन । अहिले त जनप्रतिनीधी छन, उनीहरुले जडान गर्ने कम्पनीलाई ताकेता गर्नुपर्ने हो ।’ उनले बत्तीको ५ वर्षको वारेन्टी भएको बताउदै ३ वर्ष सकिसकेकोले चाडो मर्मत गर्नुपर्नेमा जोड दिए ।

सौर्य सडक बत्ती उपभोक्ता समिति, दुलेगौंडाका तत्कालीन अध्यक्ष ज्ञान प्रसाद भण्डारीले बत्तीको विषयलाई लिएर ४ पटकसम्म नगरपालिकाको ध्यानाकर्षण गराएको बताए । ‘हामीले पटक पटक ठेकेदारलाई झिकाएर काम गर्न दबाब दिएका छौं,’ उनले भने, ‘तर खै ४ वर्ष हुन लागिसक्यो, मर्मत हुन सकेको छैन् ।’ उनले ४ महिनाअघि मर्मतका लागि सोलार ब्याट्रि लगेपनि ठेकेदारले लापर्वाही गरेको उल्लेख गरे ।

शुरुको वर्ष काइनेक्टीक इनर्जी प्रालि काठमाडौंले बत्ती जडान गरेको हो । दोस्रो वर्ष दिप लाइट इनर्जीले जडान गरेको ई. भट्टराईले बताए । डेढ वर्षदेखिनै बत्ती बोल्न छोडको स्थानीयको गुनासो छ । बिग्रेको लामो समय बित्तिसक्दा पनि मर्मत नहुदा स्थानीयले आक्रोश पोखेका छन् । राजमार्गका छेउछाउमा राखिएका अधिकांश बत्ती नबोलेको स्थानीय लक्ष्मी सिग्देलले गुनासो गरिन् ।  ‘कुनै केहि समय बोल्छन, अधिकांश राती ११ बजेपछि बल्दैबल्दैनन्,’ उनले भनिन, ‘रातको समयमा उज्यालोको लागि राखिएका सौर्य बत्ती नबलेपछि यसको के अर्थ रह्यो र ?’

‘कतिपय स्थानको त सोलार प्यानल समेत छैनन,’ भिमसेन टोलका खिमनारायण मल्लले भने, ‘टोलमा सोलार बत्ती नबोल्दा राती हिड्न पनि डर लाग्ने गरेको छ ।’ उनले लामो समयदेखि बत्ती नबोलेको बताउदै तत्काल मर्मत गर्न सम्बन्धित निकायले चासो दिनुपर्नेमा जोड दिए ।

यता काइनेक्टीक इनर्जीका मनोज कोइरालाले भने १ हप्ता भित्र बिग्रेका बत्ती बल्ने दाबी गरे । ‘हामीले मर्मतका लागि १३ वटा पोलका ब्याट्रि निकालेर लगेका छौं,’ उनले थपे, ‘आगामी १ हप्ता भित्र ती बत्ती बोल्ने छन् ।’ उनले अन्य कम्पनीले पनि बत्ती राखेको बताउदै आफूहरुले राखेका बत्ती क्रमशः मर्मत गर्दै जाने जानकारी दिए । उनले नगरपालिकाबाट करिव ४ लाख रुपैया भुक्तानी लिन बाँकी रहेको सुनाए । ‘हामी काम गर्दै जान्छौं बाँकी भुक्तानी पनि नगरपालिकाले गर्नुपर्छ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस