बारा । प्रसिद्ध शक्तिपीठ गढिमाई मन्दिरमा बलि भाकल गरेका भारतीय तथा नेपालीहरुले पशुराँगाहरु मन्दिरमा ल्याउन थालेका छन् ।
सीमामा अवरोध छिचोल्दै भारतीयहरुले बलीको मुख्य समय भन्दा अगावै राँगाहरु समितिलाई बुझाउन थालेका हुन् ।
सर्वोच्च अदालतले बलि निरुत्साहीत गर्ने प्रयास थाल्नु र भारत सरकारले सीमामा कडाई गरे पनि मंसिर ९ गतेदेखि हालसम्म दैनिक एक हजारको संख्यामा राँगा कोतमा जम्मा भइसकेको समितिले जनाएको छ ।
समितिका अनुसार राँगा बली यही मंसिर १७ गते र पशु–पंक्षि बलि १८ गते गरिने छ । यस अघिको मेलामा करिब १८ हजार राँगा र लाखौं बोका, कुखुरा, हाँस र परेवाको बली चढाइएको थियो ।
पहिला देवीलाई भाकल गर्ने र इच्छाएको पुगेपछि बली चढाउने परम्परा रहेको गढीमाईमा मेलामा बिभिन्न कारणले छुटेका पशु भाकल गर्ने व्यक्तिहरुले भने माघे संक्रान्तिको दिन बलि गर्ने गर्दछन् ।
अदालतको आदेशपछि बली रोक्न दबाब बढेपनि मेला व्यवस्थापन समितिले साविकको खुल्ला बलि क्षेत्रलाई अग्लो पर्खालले घेराबन्दी गर्दै तस्विर खिच्नपनि प्रतिबन्ध लगाएको बताइन्छ ।