को हुन् प्रदेश २ का प्रदेश प्रमुख नियुक्त राजेश झा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रवार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिशमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

पदमुक्त गरिएका परियार भने नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।

को हुन् नवनियुक्त प्रदेश प्रमुख झा?

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन् ।

पत्रकारिता जगतमा उनलाई ‘राजेश अहिराज’ नामले चिनिन्छ ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

कानून विषयमा स्नातक गरेका उनले अधिवक्ताको लाइसेन्स समेत लिएका छन् ।

झाले पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा तथा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालको चर्को आलोचना गर्ने गरेका छन् ।

मूलधारका मिडियाले उनलाई मधेश मामिलाका जानकारका रूपमा चिनाउने गर्छन् ।

उनले सम्पादन गर्ने मधेशवाणी पत्रिकामा केही वर्षअघि तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनीविरुद्ध राज्य द्रोहको मुद्दा समेत लागेको थियो । पछि सफाइ पाएर उनी रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस