चितवन : नेपाल प्रेस युनियन जिल्ला शाखाले यसवर्ष विभिन्न कार्यक्रम गरी रजतवर्ष मनाउने भएको छ । युनियनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला शाखा स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा एक वर्षभर रजतवर्ष मनाउन लागेको हो । विसं २०४८ जेठ १३ गते युनियनको केन्द्रीय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । जिल्ला अध्यक्ष अनिल ढकालले गतवर्ष भवन निर्माणमा केन्द्रित भएकाले यसवर्ष एकमहीना एक कार्यक्रम गरी रजतवर्ष मनाउन लागिएको जानकारी दिए । उनका अनुसार जेठ १३ गते ‘हिँडौं स्वस्थ्य बनांै’ भन्ने भावका साथ चौबिसकोठीबाट पुल्चोकसम्म सबैसँगै हिँड्ने गरी कार्यक्रम तय गरिएको छ।
त्यसैगरी श्रमजीवी पत्रकारको अवस्था र कार्यन्वयनका विषयमा अन्तक्र्रिया, सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारको अध्ययन अवलोकन भ्रमण र जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरिने उनले बताए ।
सोही अवसरमा अन्तरमिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्तपरीक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको बस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारिका विमोचनसँगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिए ।